छोरी फकाउँदै, विदेश जाने योजना बनाउदै
नुवाकोटको बट्टारका रोजन राईलाई छोरीले दिनहुँ ‘आमा खोइ’ भन्दै सोध्छिन् । रोजनले उनको आमा कहाँ छिन भनेर बताउन सक्नुभएको छैन । छोरीले यस्तो प्रश्न गर्नासाथ रोजनका आँखाबाट आँसु झर्छन् । छोरीलाई वास्तविकता कसरी बताउने । नबताउँदा पनि कतिन्जेल ढाँट्ने । छोरीसित झुटो बोलेर फकाउन निकै गाह्रो पर्छ । २३ वर्ष लागेका रोजनकी छोरी ४ वर्षकी भइन् ।रोजनले रोसिकाकी आमा सनिता राईसँग ७ वर्ष अघि बिहे गर्नुभएको थियो । दुवै जना एउटै कक्षामा पढ्थे । उनीहरु बिच प्रेम थियो । १६ वर्षकै उमेरमा रोजनले सनितासँग विवाह गरे । सनिता भन्दा रोजन दुई वर्ष कान्छा छन् । ७ वर्षको सनितासँगको यात्रामा छोरी थपिइन् । तर यो यात्रा सनिताले तोडेकी छिन् । उनले अर्कैसँग बिहे गरिन् । रोजनले यही कुरा छोरीलाई बताउन सक्नु भएको छैन ।
विदेश नगएको भए श्रीमतीले अर्कैसँग बिहे गर्दैन पो थियो कि भनेर रोजनलाई अहिले पछुतो लाग्छ । ९ कक्षामा पढ्दा पढ्दै भागेर बिहे गरेका रोजन र सनिताको आम्दानीको स्रोत केही पनि थिएन । बिहे भएको ३ वर्ष पछि छोरी पनि जन्मिइन् । घरमा आर्थिक अभाव हुन थालेपछि उहाँले विदेश जाने निधो गर्नुभयो ।
श्रीमतीलाई कस्मेटिक पसल, आफू रोजगारीका लागि मलेसिया
२०६९ सालमा रोजन एक लाख २० हजार दलाललाई बुझाएर युएई जानुभयो । १२ सय मासिक तलव भनेर विदेश पठाएका दलालले भनेको जस्तो भएन । मासिक ८ सय तलब, त्यो पनि निमार्णको काम परेपछि रोजनले काम गर्न सक्नुभएन । एक वर्ष युएईमा बिताएर उहाँ नेपाल फर्कनुभयो ।
रोजनलाई एकवर्ष विदेशमा गरेका दुःखले फेरि विदेश जाने मन म¥यो । अर्कातीर श्रीमती र छोरीलाई छाडेर जानु पर्ने । रोजनले आफ्नै देशमा केही गर्ने निधो गर्नुभयो । दुवैजनाले मिलेर व्यवसाय गर्ने सल्लाह पनि भयो । सनिताले कस्मेटिक पसल खोल्ने सुझाएपछि रोजनले नाइनास्ती गर्नुभएन ।
चार लाख ऋण काढेर रोजनले नुवाकोटमै व्यापार सुरु गरे । सनिता निकै खुसी थिइन् । अनि परिवारसँगै बसेर दुईचार पैसा आम्दानी भएपछि रोजनपनि सुखी नहुने कुरै भएन । तर कस्मेटिक पसलको आम्दानीले घर चलाउन नपुगेपछि रोजनलाई सनिताले नै विदेश जान भनिन् ।
रोजनले पनि नाई भन्नुभएन् । उहाँलाई दुई चार वर्ष विदेश बसेपछि परिवारसँगै खुसीे साथ बस्न पाइएला भन्ने लाग्यो । ‘हामी खुसी भएपनि पैसा थिएन, दुई वर्षमा कमाएर आउछु पैसा भएपछि सबै थोक होला जस्तो लाग्यो,’ रोजनले भन्नुभयो ।
पहिले पनि युएईमा पाएको दुःखले उहाँलाई मलेसिया काम गर्ने मनै थिएन । तर पनि परिवारकै उज्वल भविष्यका लागि रोजनले आफ्नो चाहनाालई मार्नुभयो । उहाँ ९५ हजार दलाललाई बुझाएर २०७१ साल मंसिरमा मलेसिया जानुभयो । काम र कमाई राम्रो थियो । रोजनले मासिक १६ सय रिगिंटसम्म कमाउनु हुन्थ्यो ।
राम्रो चल्ने पसलमा एक्कासी कसरी व्यापार हुन छाड्यो ?
रोजन श्रीमतीकै नाममा पैसा पठाउनुहुन्थ्यो । रोजनले कमाएको पैसाले नुवाकोटमा राम्रो घर बनाउने सोचमा थिए । फोनमा कुरा हुँदा सनिताले पनि रोजनको सपनामा मलजल गर्थिन । छोरी हुर्कदै थिइन् । रोजनका सपना पनि हुर्कदै थिए । रोजनलाई श्रीमतीले पैसा कहाँ र कसरी राखेकी छिन् थाहा थिएन । उनीहरुकै लागि परदेशिएका रोजनले सोध्नु पनि उचित ठानेनन् ।
रोजनसँग कुरा हुँदा सनिताले धेरै पैसाकै कुरा गर्थिन् । रोजनपनि आफूसँग भएको सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्थ्यो । पछि रोजनले फोनमै पैसा कहाँ राखेको छौ भनेर बुझ्दा श्रीमतीको जवाफले उहाँलाई छाँगाबाट खसे झैं भयो । सनिताले व्यापार गरेर पैसा कमाएकी थिइनन् । श्रीमानले पठाएको पैसाले सामान किनेर पसल चलाएको बताइन् ।
पहिले राम्रो व्यापार हुने पसल कसरी व्यापार हुन छाड्यो, उहाँको मनमा हुरी चल्यो । मन मानेन । रोजनले गाउँका साथीभाइलाई सोध्नुभयो । सनिताले त पसल खोल्दिनन्, धेरै त काठमाडौं नै जान्छिन जस्ता कुरा सुनाए, उहाँलाई सपना देखे झैं लाग्यो । त्यसै त कमाएको पैसा कहाँ गयो भनेर आत्तिएका रोजन साथीभाइका कुराले बेचैन भए । त्यसपछि उहाँले श्रीमतीलाई पैसा पठाउनु भएन ।
घर फर्कदा न पसल थियो, न त मलेसियामा कमाएको पैसा
परदेशमा उहाँलाई निद्रा पर्न छाडेको थियो । केही समय पछि श्रीमतीले फोन गरेर पसल बेचे भनेर सुनाइन । रोजनको किन बेचेको भन्ने प्रश्नमा उनको उत्तर सहज थियो, ‘व्यापार पनि भएन, तपाईंले पठाएको पैसा पनि त्यतै सकियो ।’ श्रीमतीको जवाफले रोजनलाई निःशब्द बनायो । जसले जे सुनाएपनि उहाँले परदेशमा बसेर शंका गर्दा सम्बन्ध बिग्रेला भन्ने डरले केही पनि भन्नुभएन ।
दुई वर्ष मलेसिया बसेर २०७३ सालमा उहाँ नेपाल फर्कनुभयो । रोजनले चार लाख रुपैयाँ सनितालाई पठाउनुभएको थियो । घर फर्कदा न त पसल थियो न त मलेसियामा कमाएको पैसा नै । रोजनको नयाँ घर बनाउने सपना त पूरा भएन नै । अहिले भएको घर पनि भत्किएको छ । रोजन फर्किएको झण्डै ७ महिना पछि सनिताले अर्कैसँग बिहे गरिन् ।
आफू नहुँदा जे भएपनि सँगै बसेर परिवारलाई खुसी राख्ने रोजनको सोच थियो । उहाँले फर्किएपछि तीन लाख ऋण काढेर तरकारी बेच्न सुरु गर्नुभयो । पसलको कमाइले परिवार चलाउन दुःख थिएन । रोजन फर्किएपछि पनि सनिताको फोनमा बेलाबेलामा अपरिचित मान्छेको फोन आइरहन्थ्यो ।
सुन तादी खोलामा फालें, त्यही खोज्नु
कारणवश रोजनले पसल बन्द गर्नु पर्यो । त्यसको केही समय पछि सनिता आलु खन्न सघाउने भन्दै माइत गइन । तर उनी फर्किनन् । रोजनलाई फोन गरेर अर्कैसँग बिहे गरेको बताइन् । अहिले सनिताले अर्कै सँग बिहे गरेको तीन महिना भन्दा धेरै भैसक्यो ।
‘माईत जाने बहानामा उनी त अर्कै सँग पो भागिछन्, अहिले पनि पत्यार लाग्दैन,’ रोजनले मुन्टो झुकाए, ‘भएको पैसा र ७ तोला सुन पनि लिएर गइन् ।’ यति बताउँदा रोजनको अनुहारको रङ बद्लियो । रोजन भन्छन्, ‘सनिताले धोका दिएपछि मलाई त बाँच्ने रहरै म¥यो । तर छोरीको लागि पनि हार खानुहुँदैन जस्तो लाग्यो ।’
रोजनले पुलिसमा पनि उजुरी दिनुभयो । ‘सुन तादी खोलामा फालें त्यही खोज्नु भनिन्, पैसा त दिने कुरै भएन,’ रोजनले भन्नुभयो । रोजन फेरि विदेश जाने तयारीमा छन् । विदेश गएर कमाउने अनि छोरी पढाउने उहाँको योजना छ । अनि अर्को बिहे गर्नुहुन्न ? रोजन भन्नुहुन्छ, ‘पहिले कमाउँ अनि विचार गरौंला ।’