देउवाले गरे मन्त्रिपरिषद् विस्तार, अधिकांश पहिलोपटक मन्त्री

 देउवाले गरे मन्त्रिपरिषद् विस्तार, अधिकांश पहिलोपटक मन्त्री



 प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री भएको ५० दिनपछि देउवाले थप १९ जनालाई बुधबार मन्त्री नियुक्त गर्नुभएको हो ।  बुधबार कांग्रेसबाट १० जना, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको छ । १९ जना थपिएसँगै मन्त्रीपरिषद् २७ सदस्यीय भएको छ । 
बुधबार थपिएका अधिकांश पहिलोपटक मन्त्री भएका हुन् । यसअघि कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीन जना र नेपाल फोरम लोकतान्त्रिकबाट एक जना नियुक्त हुनुभएको थियो । 
कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना, मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 
टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्त चौधरी पशुपन्छी विकास र आशा खनालले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र नारायण देव पर्यटन र गोपाल दहित भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नेकपा संयुक्तबाट मिथिला चौधरीले वातावरण मन्त्रालय पाउनुभएको छ । 

No comments:

Post a Comment